हाइयर कमाण्डमा महासेनानी हिमांशु खड्कालाई ‘बेस्ट स्टुडेन्ट अवार्ड’


काठमाडौं– महासेनानी हिमांशु खड्का महासेनानी दर्जाको हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालिममा प्रथम हुँदै ‘बेस्ट स्टुडेन्ट अवार्ड’ बाट पुरस्कृत भएका छन्।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा भएको तालिममा सहभागी २९ जना महासेनानी मध्येबाट प्रथम भएका खड्काले शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार २५ हजार पाएका छन्।

यसैगरी, सोही तालिममा एकेडेमिक राइटिङतर्फ महासेनानी दीपेशजंग शाह प्रथम भएका छन्। उनले पनि प्रमाणपत्र तथा नगद २५ हजार पुरस्कार पाएका छन्। उनीहरुलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार प्रदान गरे।

गत चैत ४ गतेबाट सुरु भएको तालिम नारायणहिटीस्थित श्री उपत्यका पृतना हेड क्वार्टमा समापन भएको हो।

प्रधानसेनापति क्षत्रीले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताए।

तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्न गई भावी जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुको साथै उच्चतम निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षता समेत अभिबृद्धि भएको उनको विश्वास छ।

यस अघि समापन कार्यक्रमको प्रारम्भमा तालिमको मुख्य शिक्षकको भूमिका निर्वाह गरेका उपत्यका पृतनापति उपरथी शशिचन्द्रबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement