प्रधानसेनापति शर्माद्वारा उपरथी थापालाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मलकुमार थापालाई मंगलबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

पदोन्नतिसँगै रथी थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।

हाल उनी यूएन मिसन पर्यवेक्षक बलमा हेड अफ मिसन एण्ड फोर्स कमाण्डरको रूपमा कार्यरत छन् । उनी मन्त्रिपरिषद्को माघ २५ गतेको निर्णयबमोजिम पदोन्नति भएका हुन् ।

विक्रम संवत् २०२४ असोज २५ गते ललितपुरमा जन्मिएका रथी थापा विक्रम संवत् २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी विक्रम संवत् २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

रथी थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै पीएसओज सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजकको जिम्मेवारी सम्हालेका छन् ।

अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बंगलादेशबाट एनडीसी तालिम सम्पन्न गरेका छन् भने युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनन तथा कंगोमा शान्ति सेनामा सहभागी भएका छन् ।

दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement