राष्ट्रिय हितहरूको प्रवर्द्धन हुने ढंगले काम गर्न प्रधानसेनापति शर्माको निर्देशन


काठमाण्डु – प्रधानसेनापति महारथी प्रभुराम शर्माले परम्परागत सुरक्षा चुनौतीहरूसँगै मानव सुरक्षामा देखा पर्दै आएका नवीन चुनौतीलाई पहिचान एवं विश्लेषण गरेर सामना गर्ने उपायहरूको पहिचान एवं अद्यावधिक गर्दै लैजाने क्षमता विकसित गर्नु जरुरी रहेको बताएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको सि.सं. ३० कमाण्ड तथा स्टाफ तालिमका सहभागी शिक्षार्थीलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले जलवायु परिवर्तन, बसाइसराइ, खाद्य तथा ऊर्जा सुरक्षा, विभिन्न किसिमका अतिवादी विचारधाराहरूसँग जोडिएका गतिविधि, मानव स्वास्थ्यसँग सम्बन्धित जटिलताहरू, सूचना प्रविधिको दुरुपयोग आदिका कारण सिर्जित हुने चुनौतीहरूसँगै शस्त्रास्त्रको होडबाजीको पुनरावृत्तिले विश्वभर सुरक्षा चुनौतीको रूप ग्रहण गर्दै आइरहेकोले रणनैतिक तथा सुरक्षा अध्ययनका विद्यार्थीहरूले सोही अनुरूपको तयारी र प्रतिकार्य क्षमता विकसित गर्ने योजनाहरूको तर्जुमा गर्न सक्नुपर्ने बताए ।

उनले विभिन्न मुलुकका सैनिक अधिकृतहरू एवं सुरक्षासँग सम्बन्धित अन्य निकायका अधिकृतहरू एकसाथ जम्मा भई राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषणसहित गरिने छलफल र अनुभवको आदानप्रदान सहितको अध्ययनले सामूहिक चासो तथा चिन्ताका विषयहरूमा साझा धारणा विकसित गर्न र विद्यमान समस्याहरूको समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति शर्माले तालिममा सहभागी नेपाली सैनिक अधिकृतहरूलाई नेपाली सेनाका पछिल्ला पहल र प्रमुख गतिविधिहरूबारे जानकारी गराउँदै जनतालाई केन्द्रविन्दुमा राखेर राष्ट्रिय हितहरूको प्रवर्द्धन हुने ढंगले काम गर्न निर्देशन दिए ।

व्यक्तिगत फाइदाका लागि संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित समयमा उचित ढंगले दण्डित हुनुपर्ने कुरा बताउँदै उनले संस्थाको ‘चेन अफ कमाण्ड’भित्रै सबै खाले समस्याको समाधान मिल्नेबारे प्रष्ट रहन अधिकृतहरूलाई सुझाव दिए ।

प्रविधिको दुरुपयोग, सवारी दुर्घटना, आत्महत्या सम्बन्धी सोच र प्रयास पछिल्ला दिनमा देखिएका चिन्ताजनक विषय भएकाले यस्ता कुराहरू रोक्न सबैले सजगता एवं सतर्कता अपनाउन जरुरी रहेको बताउँदै उनले प्रचलित ऐन, नियम, कार्यविधिहरूको परिधिभित्र रहेर मातहतका सकलदर्जाको विश्वास जित्दै संस्था र देश हितमा समर्पित हुनेहरूले सदैव सफलता एवं प्रशन्नता हासिल गर्ने बताए ।

सि.सं. ३० कमाण्ड तथा स्टाफ तालिममा नाइजेरिया, केन्या, माल्दिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका १/१ जनासहित ६ जना (महिला १ जना) विदेशी शिक्षार्थी अधिकृतहरू सहभागी छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना र नेपाली सेनाका ५३ जना समेत कूल ६२ जना (महिला २ जना) शिक्षार्थीहरू तालिमरत छन् ।

जङ्गी अड्डामा आज बुधबार आयोजित प्रधानसेनापतिको सम्बोधन कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । रथीवृन्द, कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षक लगायत अधिकृतहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement