वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोलार प्रोजेक्टको उद्घाटन


काठमाण्डु – नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा जडित सोलार प्रोजेक्टको संयुक्त राज्य अमेरिकी उपसहायक सचिव राहेल शिलरले उद्घाटन गरेका छन् ।

उनले परियोजना शान्ति स्थापना सम्बन्धी क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र ग्लोबल पीस इनिसिएटिभ (जीपीओआई) को सहकार्यको राम्रो उदाहरणका रूपमा रहिरहने विश्वास व्यक्त गर्दै नेपाली सेनामार्फत संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुने विभिन्न मुलुकका सैनिकहरूलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे ।

कार्यक्रममा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले सोलार प्रोजेक्ट निर्माणका लागि प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

संयुक्त राज्य अमेरिकी सरकारको जीपीओआईको सहयोगमा निर्माण गरिएको प्रोजेक्ट १८५ केभीए क्षमताको छ । तालिम केन्द्रमा रहेका सम्पूर्ण संरचनाहरूलाई आवश्यक विद्युतीय ऊर्जा प्रोजेक्टमार्फत प्रवाह हुनेछ । वैकल्पिक ऊर्जा स्रोतको रूपमा जडान भएको प्रोजेक्ट तालिम केन्द्रको भौतिक स्तरोन्नतिमा महत्त्वपूर्ण हुनुका साथै केन्द्रलाई शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सेन्टर अफ एक्सलेन्सका रूपमा विकसित गर्दै लैजान सहयोगी हुने जनाइएको छ ।

उपसहायक सचिव राहेल शिलरले फागुन ८ गतेदेखि जीपीओआईको सहयोगमा नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको सिलसिलामा नेपालमा छन् ।

उद्घाटन समारोहमा रथीवृन्द, नेपालका लागि अमेरिकी राजदूत, जीपीओआईका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement