राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजमा ५६६ छात्रछात्रा दीक्षित


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले युवाहरू नै राष्ट्रको भविष्य भएको र युवाहरूको राष्ट्रप्रतिको माया, समर्पण भाव र निष्ठाले नै राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति लगायत सबै पक्ष बलियो हुने बताएका छन् ।

राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय नवलपरासीमा आज शनिबार आयोजित सि.सं.१८ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृति लगायत सबै पक्षको संरक्षण र संवर्द्धनमा जोड दिए ।

शनिबारको दीक्षान्त समारोहमा ५६६ जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।

प्रधानसेनापति शर्माले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासन सम्बन्धी विविध सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहज रूपमा सामना गर्न सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

 सम्बोधनकै क्रममा उनले आफ्नो मेहनतको पसिना स्वदेशकै माटोमा बगाउन सके मात्र देशले समृद्धि हासिल गर्ने कुरा उल्लेख गर्दै क्याडेट छात्रछात्राहरूलाई देश निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिन समेत सुझाव दिए । उनले क्याडेट छात्रछात्राहरूको आत्मियता एनसीसी पूर्व छात्रमार्फत कालान्तरसम्म दीगो राख्न नेपाली सेना, राष्ट्रिय सेवा दल तथा आफ्नो व्यक्तिगत तर्फबाट हरसम्भव प्रयास रहने विश्वास दिलाउँदै उच्च जाँगर र हौसलाका साथ तालिम सफलतापूर्वक सम्पन्न गरेका छात्रछात्राहरू लगायत अभिभावक, शिक्षक वर्ग एवं सम्बन्धित विद्यालयहरूलाई बधाई ज्ञापन गरे ।

दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी रमिन्द्र क्षेत्री (अ.प्रा.), रथीबृन्द तथा अधिकृतहरू, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गरेका छन् ।

विक्रम संवत् २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ७३ हजार २७३ जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement