प्रधानसेनापति र अमेरिकी एडमिरल जोन सी एक्विलिनोबीच भेटघाट


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राज्य इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी. एक्विलिनोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भएको छ ।

फागुण १२ गते नेपालको ३ दिने भ्रमणमा आएका एडमिरल एक्विलिनोलाई जङ्गी अड्डामा प्रधानसेनापतिले स्वागत गरेका थिए । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

ग्लोबल पीस अपरेसन इनिसिएटिभ (जीपीओआई) को सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा फागुन ८ गतेदेखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ ।

एडमिरल एक्विलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको अभ्यासको फागुन १३ गते अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement