सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु


काठमाण्डु – नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८० सुरु भएको छ ।

बुधबार सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागिता एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा पृतनापति समन्वयात्मक बैठक २०८० सुरु भएको हो ।

२ दिनेसम्म चल्ने बैठकको क्रममा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री खड्काले राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीहरूबारे छलफल गरी त्यस्ता चुनौतीहरूको सामना गर्ने उपायहरू पहिल्याउन बैठक महत्त्वपूर्ण हुने एवं बैठकका निष्कर्षहरूले नेपाली सेना र रक्षा मन्त्रालयलाई समेत भावी कार्ययोजना तर्जुमा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बाह्य रूपमा नेपालको भू–राजनीतिक अवस्थिति, शक्तिराष्ट्रहरूको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीहरूको विश्व मञ्चमा बढ्दो उपस्थिति श्रम आप्रवासन, खुला सिमाना, प्रविधिको विकास लगायतका विषयहरूले सुरक्षा वातावरणमा सिर्जना गर्दै आएका प्रभावहरू एवं आन्तरिक रूपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहहरूको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिहरूको सुक्ष्म विश्लेषणसहित समग्र राष्ट्रिय सुरक्षामा देखापरेका चुनौतीहरूको आकलन गर्न जरुरी रहेको बताए ।

नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितिहरूमा सीमित स्रोत तथा साधनहरूको उच्चतम सदुपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको बताउँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको उल्लेख गरे ।

हालैको जाजरकोट भूकम्प लगत्तै खोज, उद्धार एवं राहत कार्यमा सेनाका सकलदर्जाले प्रदर्शन गरेको सक्रियताको आफू स्वयं साक्षी रहेको बताउँदै उनले समग्र नेपाली सेनालाई पर्याप्त स्रोतसाधनको व्यवस्था गर्दै उच्च व्यावसायिकता कायम राख्न सरकार र आफ्ना तर्फबाट पूर्ण प्रतिबद्धता प्रकट गरे । नेपाली जनताको तीव्र विकासको अपेक्षा पूरा गर्न राष्ट्रिय गौरवको काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक लगायत विकटका बस्तीहरू जोड्ने करिडोर आयोजनाहरूको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताउँदै मन्त्री खड्काले जटिल भू–बनोट भएका दुर्गम ईलाकाहरूमा विकास निर्माणका थप जिम्मेवारीहरू नेपाली सेनालाई प्राप्त हुन सक्ने कुरा उल्लेख गरे ।

उनले निर्धारित लागत तथा समयसीमाभित्र यस्ता आयोजनाहरू सम्पन्न गर्नेतर्फ सम्बद्ध सबै संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गरे । संविधानप्रदत्त एवं राज्यले आवश्यक ठानेका अन्य जिम्मेवारीहरूको निर्वाहमा नेपाली सेना सदैव अब्बल रहिआएको बताउँदै उनले संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा फौज खटाउने राष्ट्रहरूको शीर्ष स्थानमा रहेको नेपाल र नेपाली शान्ति सैनिकहरूबारे संयुक्त राष्ट्रसंघ लगायत विभिन्न मित्रराष्ट्रहरूका उच्च पदाधिकारीबाट भएको प्रशंसा सुन्दा आफ्नो छाती गर्वले चौडा हुने गरेको बताए ।

मन्त्री खड्काले नेपाली सेनालाई सबल र समयानुकूल बनाई राख्न आवश्यक कानूनी प्रावधानहरूको तर्जुमा तथा विद्यमान कानूनी प्रावधानहरूलाई अद्यावधिक गर्नेतर्फ प्राथमिकताका साथ कार्य भइरहेको जानकारी गराए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानसेनापति महारथी प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यहरूसँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरूलाई समेत सम्बोधन गर्न सक्ने गरी हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए । उनले परम्परागत र अपरम्परागत खतराहरूद्वारा सिर्जित सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको हुँदा सोही अनुरूप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयहरुमा छलफल गर्न बैठक फलदायी हुने बताए ।

वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको संक्षिप्त विश्लेषण गर्दै प्रधान सेनापतिले नेपालको सिमानाभन्दा धेरै टाढा भइरहेका रुस तथा युक्रेन बीचको युद्ध, इजरायल तथा हमास बीचको युद्ध लगायतका गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिबिम्बित गरेको बताए ।

उनले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा नविन प्रविधिको प्रयोगले पार्ने असर र मानव सुरक्षाका बहुआयामिक चुनौतीहरू बुझ्न र तदनुरूप क्रियाशिलताका लागि तयार रहनु आवश्यक रहेको बताए ।

प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षहरूलाई सम्बोधन तथा चुनौतीहरूको समाधान एवं न्यूनीकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण हुन अपरिहार्य रहेको बताउँदै नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन सरकारको निरन्तर सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । रथीवृन्द एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement