सैनिक दिवसमा प्रधानसेनापतिको सम्बोधन : संस्थागत हित बुझ्न नसक्नेले परिणाम भोग्नुपर्छ


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानूनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीहरूको संगठन भएको बताएका छन् ।

महाशिवरात्री तथा २६१औं सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गर्ने क्रममा जङ्गी अड्डामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न तह र तप्कामा रही उच्च मनोबल र हौसलाका साथ स्वदेश र विदेशमा अनवरत रूपमा खटिई रहेका सकलदर्जालाई धन्यवाद दिँदै सदैव यस्तै मनोबलका साथ अविचलित रही आफ्नो कर्तव्यपथमा अडिग रहने विश्वास व्यक्त गरे ।

सामूहिक नेतृत्व र सामूहिक योगदानबाट सञ्चालन हुँदै आएको संस्था नेपाली सेनाका सकलदर्जालाई सदैव व्यक्तिभन्दा संस्था माथि रहने कुरा स्मरण गराउँदै उनले पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नबिर्सन सुझाव दिए ।

प्रधानसेनापति शर्माले त्यस अवसरमा संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, हामीसँग उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिँदो विश्व परिवेश अनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्वपंक्तिबाट आधुनिकीकरण, व्यावसायिकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको जानकारी गराउँदै यसका लागि नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ ले निर्देश गरेअनुरूप राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेशागत वृत्तिविकास, सबल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्य लगायतका विषयमा समयसापेक्ष आधुनिकीकरण र सुधार गर्दै लैजाने प्रयास भइरहेको बताए ।

प्रधानसेनापति शर्माले संस्थागत हित र सैनिक आचरण विपरितका गतिविधिमा संलग्न रहने एवं व्यक्तिभन्दा संस्था सदैव माथि रहने तथ्य बुझ्न नसक्ने वा नचाहनेहरूले यथोचित परिणाम भोग्नुपर्ने यथार्थबारे सेनाका सकलदर्जालाई सजग तुल्याउँदै संस्थाभित्रका अवसरहरू सकेसम्म धेरैले उपभोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास भइरहेको जानकारी गराए ।

नेपाली सेना नेपाली जनताको आशा, भरोसा र विश्वासको जगमा स्थापना भएको र यसको समावेशी चरित्रलाई थप मजबुत बनाउन एवं देशका हरेक कुनामा रहेका युवालाई राष्ट्र रक्षार्थ स्वःस्फूर्त नेपाली सेनामा समावेश भई मातृभूमिको सेवामा लाग्न सहज तुल्याउन देशका दुर्गम र विकट जिल्लाहरूलाई समेट्ने गरी सैन्य भर्ना केन्द्रहरू खोलिएको बताए । प्रधानसेनापति शर्माले ऐतिहासिक महत्त्वका सैन्य सम्पदा (गढी तथा किल्लाहरू) को संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई भविष्यमा पनि निरन्तरता दिने कुरा बताउँदै राष्ट्रिय गौरव एवं सेनाको प्रतिष्ठासँग जोडिएका काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडक आयोजना लगायत दार्चुला–टिंकर, खाँदवारी–किमाथाँका, वेनीघाट–लार्केभञ्ज्याङ र कर्णाली करिडोर सडक आयोजनाहरूमा सन्तोषजनक प्रगति भइरहेको उल्लेख गरे । उनले विकास निर्माणका कार्यमा संलग्न सबैलाई आर्थिक पारदर्शिता कायम राख्दै समयसीमाभित्रै कार्य सम्पन्न गर्न निर्देशन दिए ।

नेपाली सेनालाई बन्दोबस्ती सामग्रीको आपूर्तिमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको जानकारी दिँदै प्रधानसेनापति शर्माले सकलदर्जाको पेशागत दक्षता अब्बल बनाई राख्न तालिम गतिविधिलाई प्राथमिकता दिइएको बताए । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक स्वीकृतिको प्रक्रियामा रहेको एवं पूर्वाधार निर्माण र तालिम सञ्चालन मोडालिटी तयारीको कार्य अपेक्षाकृत रूपमा अघि बढिरहेको बताउँदै उनले नेपाली सेनाले निर्वाह गर्दै आइरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढंगले पूरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

सकलदर्जा र हिताधिकारीहरूको कल्याणका क्षेत्रमा सैनिक कल्याणकारी कोषमार्फत सञ्चालन भइरहेका कार्यहरू थप सहज, सुलभ एवं प्रभावकारी बनाउन गरिएका सुधारात्मक प्रयासहरूको चर्चा गर्दै प्रधानसेनापति शर्माले सेना दिवसको अवसरमा आजै वीरगति प्राप्त सकलदर्जालाई देश, जनता र नेपाली सेनाको लागि पुर्‍याएको अदम्य साहसको उच्च सम्मान गर्दै मरणोपरान्त कदरपत्र प्रदान गरिएको र उनीहरूको परिवारलाई दिइँदै आएको कल्याणकारी निवृत्तिभरणमा ५०० रुपैयाँ वृद्घि गरिएको जानकारी दिए ।

बिहीबारको कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । रथीवृन्द, अधिकृत, पदीक तथा अन्य दर्जाको उपस्थिति थियो ।

यसअघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमबीच जिम्मेवारी निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधानसेनापति शर्माले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका थिए । सोही अवसरमा वीरगति प्राप्त सकलदर्जाको सम्मानमा सहिद सलामी अर्पण गरिएको थियो भने छाउनीमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement