प्रधानसेनापति शर्मासँग ‘युथ एक्सचेन्ज प्रोग्राम’मा सहभागीहरूको शिष्टाचार भेट


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेका भारत, पाकिस्तान र माल्दिभ्सका नेसनल क्याडेट कोर (एनसीसी) का प्रतिनिधिमण्डलहरूले शिष्टाचार भेटघाट गरेका छन् ।

संयुक्त रूपमा भएको भेटघाटका अवसरमा भ्रमण दलका सदस्यहरूले युथ एक्सचेन्ज प्रोग्राम (वाईईपी) का दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गरेका थिए ।

महाशिवरात्री एवं नेपाली सेना दिवसको अवसर पारेर आयोजित वाईईपीमा सहभागी हुन नेपाल आएका मुलुकहरूका साथै भुटान र श्रीलंकाका एनसीसी क्याडेटहरू विभिन्न गतिविधिमा सहभागी हुनेछन् ।

विक्रम संवत् २०२६ सालबाट राष्ट्रिय सेवा दल नेपाल विभिन्न देशहरूमा सञ्चालित वाईईपीमा सहभागी हुँदै आएको छ । विक्रम संवत् २०५६ सालबाट नेपालमै वाईईपी आयोजना गर्न थालिएको छ । कार्यक्रमअन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्रछात्राहरूले भ्रमण गरिसकेका छन् ।

नेपाल भ्रमणमा आएका विभिन्न देशका क्याडेटहरूले काठमाण्डु उपत्यका लगायत नेपालको पर्यटकीय एवं धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ । जङ्गी अड्डामा आज बिहीबार आयोजित कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत वाईईपीमा सहभागी देशहरूका छात्रछात्राहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement