सहायकरथी र महासेनानीकाे पदस्थापनाः हिमांशु बाहिनीपति, सुरेश शिक्षाध्यक्ष


काठमाडौं– नेपाली सेनाको सहायकरथी र महासेनानीमा बढुवा भएकाहरुको पदस्थापन भएको छ।

सैनिक मुख्यालयका अनुसार महासेनानीबाट सहायकरथीमा बढुवा भएका १० जना, प्राविधिक महासेनानीबाट प्राविधिक सहायकरथीमा बढुवा भएका २ जना र प्राविधिक प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका एक जनाको पदस्थापना भएको हो।

सहायकरथीमा बढुवा भएका हिमांशु खड्का नम्बर १८ बाहिनी अड्डाका बाहिनीपति बनेका छन्। उनी यसअघि महासेनानी रहँदा सूदरपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए।   उनी यसअघि वासिङटनस्थि नेपाली दूतावासमा सैनिक सहचारी थिए।

हिमांशु गत असारमा महासेनानी दर्जाको हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालिममा प्रथम हुँदै ‘बेस्ट स्टुडेन्ट अवार्ड’ बाट सम्मानित भएका थिए। नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा भएको तालिममा सहभागी २९ महासेनानी मध्येबाट प्रथम भएका खड्कालाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार २५ हजारबाट पुरस्कृत गरिएको थियाे।

यसैगरी, महासेनानीबाट सहायक रथीमा बढुवा भएका सुरेशकुमार बानियाँ सैनिक ब्याटल स्कूलका शिक्षाध्यक्ष बनेका छन्। उनी यसअघि पूर्वी पृतना हेडक्वार्टरमा थिए।

महासेनानी छँदा नम्बर २६ बाहिनी अड्डामा रहेका सहायकरथी प्रदीपजंग केसी सैनिक सामग्री प्राप्ती निर्देशनालय निर्देशक बनेका छन्, भने निरज पौडल नम्बर ४ बाहिनी अड्डाको बाहिनीपति बनेका छन्। उनी यसअघि महासेनानी छँदा उत्तरपश्चिम पृतना हेडक्वार्टरमा थिए।

यसैगरी, महासेनानीबाट सहायक रथीमा बढुवा भएका पंकज कार्की अति विशिष्ट व्यक्ति निर्देशनालयका निर्देशक, प्रयोग जबरा पश्चिम पतना हेडक्वार्टरको पृतना चिफ, योगराज शर्मा आपूर्ति तथा परिवहन निर्देशनायका निर्देशक र राम राणा वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका निर्देशक बनेका छन्।

त्यस्तै, महासेनानीबाट सहायक रथीमा बढुवा भएका लवकुमार रायमाझी उपत्यका पृतना हेडक्वार्टरको पृतना चिफ अफ स्टाफ बनेका छन्, भने अर्जुन श्रेष्ठ उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतना चिफ अफ स्टाफ बनेका छन्।

यसैगरी, २ जना प्राविधिक महासेनानी प्राविधिक सहायक रथीमा बढुवा भएका छन्। यसरी, बढुवा हुने डा. राजिवराज शाही र डा. उदयबज्र बज्राचार्यको वीरेन्द्र अस्पतालमा पदस्थापन भएको छ। उनीहरु यसअघि पनि वीरेन्द्र अस्पतालमै थिए।

यसैगरी, प्राविधिक प्रमुख सेनानी डा. नम्रता महरा प्राविधिक महासेनानीमा बढुवा भएकी छन्। उनको पदस्थापना वीरेन्द्र अस्पतालमा भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement