काठमाण्डु – नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८१ सम्पन्न भएको छ ।
जङ्गीअड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक २०८१ को मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरे ।
२ दिनसम्म सञ्चालन भएको बैठकको पहिलो दिन सोमबार पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए भने दोस्रो दिन मंगलबार जङ्गीअड्डामा रहेका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूले आ–आफ्नो जिम्मेवारी अनुरूपको प्रस्तुतीकरण, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए ।
बैठकको समापनका अवसरमा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले विभागीय प्रमुख, पृतनापति लगायत सम्बन्धित सबै तहका कमान्डरहरूलाई अपरेसनल क्षमताको विकास, उच्च तयारीपन तथा अपरेसनल प्रभावकारिता वृद्धि हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिँदै सकल दर्जाको सामूहिक भावना तथा एकढिक्कापन अभिवृद्धिमा जोड दिन निर्देशन दिए ।
बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था, नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमहरूको प्रभावकारिता लगायतका विषयमा छलफल भएको थियो ।
नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षको २ पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आइरहेको छ । यस वर्षको पहिलो बैठकको समापनका अवसरमा नेपाली सेनाका विभागीय प्रमुखहरू, पृतनापतिहरू, निर्देशक एवं बाहिनीपतिहरू लगायत अधिकृतहरूको उपस्थिति थियो ।
प्रतिक्रिया