कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न अन्तिम खेलमा स्याङ्जामाथि ५ विकेटले जीत निकाल्दै कास्की च्याम्पियन बन्न सफल भएको हो ।

गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा कास्कीले ४ वटै खेल जित्दै सर्वाधिक ८ अंक जोडेर उपाधि चुमेको हो । खेलमा स्याङ्जाले दिएको ८८ रनको लक्ष्य कास्कीले १९ ओभरको दोस्रो बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । सीमाना केसीले सर्वाधिक १६, अरमिना अधिकारीले १४, श्रेया शाहले ११ र सेरिना थापाले नौ रन बनाए । कास्कीकी सीमाना रेग्मी र रिया तामाङले समान २/२ विकेट लिए ।

जीतका लागि ८८ रनको  लक्ष्य पछ्याएको कास्कीका लागि रेखा तामाङले अविजित २५ रन बनाउँदै जीतको आधार तयार गरिन् । ३२ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन् । चन्द्रमाया बरालले २३, बिनिता सिग्देलले १० र सिर्जना पौडेलले ७ रन जोडिन् ।

स्याङ्जाका भावना भट्टराई, अपेक्षा बुढाथोकी, सलिना सेन र रञ्जना साउदले समान १ विकेट लिए । ब्याटिङ र बलिङ दुवैतर्फ योगदान पुर्‍याएकी कास्कीकी रेखा तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्याङ्जाकी सीमाना केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भइन् । कास्कीकी चन्द्रमाया बरालले उत्कृष्ट ‘ब्याटर’ र स्याङ्जाकी अपेक्षा बुढाथोकीले उत्कृष्ट ‘बलर’को उपाधि प्राप्त गरिन् ।

प्रतियोगितामा गण्डकीका ५ जिल्लाको सहभागिता रहेको थियो । कास्कीले ४ खेलबाट ८ अंक जोड्दा स्याङ्जा ३ जीत र १ हारसहित ६ अंकसहित उपविजेता बन्यो । नवलपुरले २ तथा पर्वतले १ खेलमा जीत निकाले । बागलुङ भने प्रतियोगिताका सबै खेलमा पराजित भयो ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरे । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने बताए ।

त्यसैगरी मंसिर तेस्रो हप्तादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा प्रदेश टोली निर्माण गरिनेछ ।