सेना दिवसको अवसरमा फोटो तथा बृहत् प्रदर्शनी हुने

सेना दिवसको अवसरमा फोटो तथा बृहत् प्रदर्शनी हुने


काठमाण्डु – नेपाली सेना दिवसको अवसरमा माघ १५–१८ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ ।

प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्किने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरू लगायत विविध गतिविधिको प्रदर्शनी हुनेछ ।

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा अवलोकनकर्तालाई माघ १५ गते दिउँसो १२ बजेदेखि ५ बजेसम्म र माघ १६–१८ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिबारे जानकारी हासिल गर्न सहज हुने जनाइएको छ ।