काठमाण्डु – भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ ४ दिने औपचारिक भ्रमणका क्रममा आईतबार काठमाण्डु आइपुगेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ ५ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका हुन् ।
जनरल सेठसँग भारतीय सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएसन (एडब्ल्यूडब्ल्यूए) की अध्यक्ष कोमल सेठ पनि नेपाल आएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाध्यक्ष सेठ नेतृत्वको टोलीलाई नेपाली सेनाका रथी उपरथी प्रदीपजंग केसी तथा उनकी पत्नीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा जनरल सेठलाई सोमबार विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतका सेनाबिच कायम रहेको परम्पराअनुसार उनलाई उक्त मानार्थ दर्जा प्रदान गर्न लागिएको हो ।
भारतीय सेनाका अनुसार भ्रमणका क्रममा जनरल सेठले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा पुष्पहार अर्पण गर्ने तथा नेपाली सेनाको मुख्यालयमा सम्मान गारद ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् । नेपाली सेनाका सैन्य मामिला महानिर्देशनालयका प्रमुखले आपसी हितका विषयमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
सोही दिन राष्ट्रपति भवनमा आयोजना हुने मानार्थ महारथी दर्जा प्रदान गर्ने समारोहमा जनरल सेठ सहभागी हुनेछन् ।
भ्रमणको दोस्रो दिन जनरल सेठले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ तालिम केन्द्रमा कमान्ड तथा स्टाफ तालिममा सहभागी अधिकृतहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले त्यहाँका प्रशिक्षक तथा विदेशी सैनिक अधिकृतहरूसँग अन्तरक्रिया गर्नुका साथै नेपालका उच्च पदस्थ अधिकारीहरूसँग आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।
भ्रमणको अन्तिम दिन अर्थात् १९ अगस्टमा जनरल सेठ पोखरामा आयोजना हुने पूर्वसैनिक र्यालीमा सहभागी हुनेछन् । उनले वीर नारी तथा वीरता पुरस्कार प्राप्त व्यक्तिहरूलाई सम्मान गर्ने र भारतीय सेनाका पूर्वसैनिकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
नेपाली सेनाका अनुसार उच्चस्तरीय सैनिक भ्रमण तथा पारस्परिक आदानप्रदानले नेपाल र भारतका सेनाबिच लामो समयदेखि कायम रहेको सम्बन्ध तथा परम्परालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ ।
भारतीय पक्षले पनि जनरल सेठको नेपाल भ्रमणले २ देशबिचको गहिरो ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धसँगै रक्षा सहकार्य र सैनिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने जनाएको छ । भ्रमणका क्रममा २ सेनाबिच सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने अवसर समेत प्राप्त हुने भारतीय पक्षको भनाइ छ ।






प्रतिक्रिया