काठमाण्डु – भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालको ४ दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा उनकी धर्मपत्नी कोमल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी तथा उनकी धर्मपत्नीले बिदाइ गरे ।
नेपाल भ्रमणका क्रममा जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । नेपाल र भारतका स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार उनलाई सम्मान प्रदान गरिएको हो ।
भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति पौडेल, प्रधानमन्त्री एवं रक्षामन्त्री तथा प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा २ देशका सेनाबिचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा समेत छलफल भएको थियो । नेपाली सेनाका अनुसार जनरल सेठको भ्रमणले नेपाल र भारतबिच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर तथा प्रगाढ बनाउन योगदान पुगेको छ ।




प्रतिक्रिया