खुल्ला हाफ म्याराथनमा आर्मीका रावल च्याम्पियन


पाल्पा — गणेशदल गण त्रिभुवन आर्मी क्लबका नरेन्द्र सिंह रावल विजय दौड खुल्ला हाफ म्याराथनमा च्याम्पियन भएका छन् ।

भ्रमण वर्षका अवसरमा गोरखदल गणले पाल्पाको तानसेनमा शनिबार आयोजना गरेको खुल्ला हाफ म्याराथनमा नरेन्द्रले १ घण्टा १६ मिनेट ९ सेकेन्डमा दूरी पूरा गरेका हुन् । उनले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् ।

रुकुम मुसीकोटका दुर्गाराज बुढा दोस्रो र नारायण दल गण गोरुसिंगे कपिलवस्तुका सुवास कार्की तेस्रो भए । दुर्गाराजले १ घण्टा १८ मिनेट ३५ सेकेन्ड र सुवासले १ घण्टा १८ मिनेट ३० सेकेण्डमा दुरी पार गरे ।

दोस्रो र तेस्रो हुनेले क्रमस ३० र २० हजार नगद, ट्रफी र प्रमाणपत्र पाए । खड्गदल गणका शिवबहादुर रायमाझी १ घण्टा १८ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै चौथो भए । उनले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाए ।

यसैगरी ५ किलोमिटर छात्रा दौडमा प्यूठानकी हुमीकुमारी बुढामगर पहिलो भइन् । प्यूठानकै खिमा शेरचनले दोस्रो र जनता माध्यामिक विद्यालय तानसेनकी सन्जु गाहा तेस्रो र अमृत पब्लिक माध्यामिक विद्यालय रम्भा पाल्पाकी सपना सारु चौथो भइन् । उनीहरुलाई क्रमश २०, १०, ५ र २ हजार प्रदान गरियो ।

५ किलोमिटर दौडकै छात्रतर्फ भक्तपुरका सागर श्रेष्ठ पहिलो भए । काठमाडौंका युनिश सारु मगर दोस्रो, काठमाडौंकै प्रविण बोहोरा तेस्रो र महोत्तरीका नारायणबाहदुर कुशहवा चौथो भए । उनीहरुलाई क्रमश २०, १०, ५ र २ हजार नगद, ट्रफी, प्रमाणपत्र पाए ।

२१ किलोमिटर हाफ म्याराथनमा बेलायती नागरिक डेनियल ज्याम्स विचम्यान र जापानी नागरिक दाई सुके ओगुरालाई विशेष सम्मान गरियो ।

विजयी खेलाडीहरुलाई २२ नम्बर बाहिनी बुटवलका बाहिनीपति सहायक रथी सुदर्शन सिलवाल, प्रदेशसभा सदस्य नारायण आचार्य, डा. पुरनमान बज्राचार्य, बीरबहादुर राना, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनी, गोरखदल गणका गणपति सुरज थापाले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement