आपत्–विपदमा काम लाग्छ सेना, फुर्सदका बेला उसैमाथि निशाना !


काठमाडौं – राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाली सेनालाई विकास निर्माणका काममा लगाउँदा बहस र विवाद सिर्जना हुने गरेको छ ।सरकारले काठमाडौं–निजगढ द्रूतमार्ग लगायत महत्वपूर्ण र छिटो सक्नुपर्ने आयोजनाको निर्माणको जिम्मा दिएपछि सेनाको व्यावसायिकतामाथि नै प्रश्न उठाउने गरिएको छ ।

सामान्य अवस्थामा सरकारले सेनालाई जिम्मा नदिने गरेको भएपनि समस्याग्रस्त, जटिल र तीव्रताका साथ काम सम्पन्न गर्नुपर्ने विकास आयोजनामा सरकारले सेनालाई जिम्मा दिने गरेको छ ।

पछिल्लो पटक सरकारले बारा र पर्सामा आएको आँधीहुरीबाट प्रभावित परिवारको घर निर्माणको जिम्मा समेत सेनालाई दिएको छ । बर्खाअघि नै घर निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्यसहित सेनालाई जिम्मा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । गत आईतबार राति आएको आँधीहुरीले दुवै जिल्लामा ठूलो क्षति गरेको छ भने नेपाली सेना शुरूदेखि नै उद्धार र विपद् व्यवस्थापनमा सक्रिय रहेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताए । सरकारले जनता आवास कार्यक्रमको मोडालिटीमा प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

आवास पुनर्निर्माण कामको सहजीकरण २ नम्बर प्रदेशका प्रमुख सचिवले गर्नेछन् भने शहरी विकास मन्त्रालय र दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र  नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् । आँधीबाट २ हजार ४ सय ४ घरमा क्षति पुगेको तथ्यांक संकलन गरिएको छ ।  बारामा १ हजार ८ सय ९५ घर र पर्सामा ५ सय ९ घर नराम्ररी प्रभावित भएका तथ्यांकमा उल्लेख छ ।

आँधीहुरी आएकै दिनदेखि घाइतेको खोजबिन र उद्धार तथा व्यवस्थापनमा सक्रिय रहेको सेना अब केही महिना प्रभावित क्षेत्रमै बस्ने भएको छ । विभिन्न विकास निर्माण आयोजनामा काम गरिरहेको सेनामाथि घर निर्माणको जिम्मेवारी समेत थपिएको छ । प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने भएकाले नै सरकारले विपद्मा परेका परिवारको घर बनाउने जिम्मा सेनालाई दिएको हो ।

सरकारले जिम्मेवारी दिने भएपनि कतिपय अवस्थामा सेनालाई नै विवादमा ल्याउने प्रयास हुने गरेको छ । सेनालाई विकास निर्माणबाट अलग राख्नुपर्ने मत मिसनकै रुपमा उठ्ने गरेको छ । तर सेनामा विकास निर्माणको क्षमता नहुने हो भने अहिले आपत्को बेला घर बनाउने क्षमता सेनामा कसरी आउँथ्यो ? सेनाले सुरक्षा सँगसँगै विपद् व्यवस्थापन र विकास निर्माणको क्षमता समेत स्थापित गरेका कारण विपद्मा सेनालाई काम लगाउन सम्भव भएको हो ।

सेनाले खरिद गर्ने हेलिकप्टर लगायतका विषयलाई समेत विवादित बनाउने गरिएको छ । सेनाका हेलिकप्टर भीभीआईपीको प्रयोजनमा मात्रै प्रयोग गरिन्छन् भनेझै हेलिकप्टर अनावश्यक भएको स्थापित गर्न खोजिन्छ ।

तर हावाहुरी विपद् लगायत अन्य प्राकृतिक प्रकोपको समयमा सेनाले तिनै हेलिकप्टरबाट घाइते र बिरामीको उद्धार गर्ने गरेको छ । सेना स्रोतसाधनसम्पन्न हुँदा त्यसबाट सर्वसाधारण जनतालाई समेत लाभ मिल्ने तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन ।

सेनाभित्र पनि विकृति र व्यक्तिगत प्रवृत्ति हाबी हुन सक्छन् । कतिपय अवस्थामा सेनाभित्र हुने भ्रष्टाचार पनि सार्वजनिक भएका छन् । त्यस्ता विकृतिमाथि सरकारले छानबिन गरेर कारवाही गर्न सक्छ ।

समग्र सैनिक संगठनका आधिकारिक गतिविधि र सरकारले दिएको महत्वपूर्ण जिम्मेवारीमाथि टेकेर सेनाप्रति सर्वसाधारणमा नकारात्मक धारणा बनाउने कोसिस हुनु चाहिँ न्यायसंगत हुँदैन । नेपाली सेना जति मजबुत भयो, राष्ट्रिय सुरक्षा र सर्वसाधारणलाई त्यति नै लाभ मिल्ने छ । जुन तथ्य बारा र पर्साको विपद्बाट पछिल्लो पटक पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement