सेनामा गलत काम गर्नेहरूप्रति आफू अझ कठोर हुने प्रधानसेनापतिको चेतावनी


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि मात्र प्रणाली र पद्धतीमा सुधारको प्रयास नथालेको बताएका छन् । नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले यस्तो बताएका हुन् ।

‘मसँग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु,’ उनले भने, ‘बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’
यसका लागि आफू अझ कठोर हुने उनले बताए । सेनापति थापाले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’

‘शल्यक्रिया गर्नुपर्ने घाउलाई हृयाण्डिप्लास्ट वा टालोले छोप्न खोज्नु समयको बर्बादी मात्र हो । त्यसैले ओखती मात्र होइन, शल्यक्रिया आजबाट सुरु गरौं ।’ उनले अरुले गरेको गल्ती, कमजोरी वा अनैतिक लाभको पापको भारी मैले किन बोक्ने ? एकाध व्यक्तिले गरेको अपराधका कारण सेनाको प्रतिष्ठामा आँच आउन किन दिने ? एकाध व्यक्तिका कारण संगठन किन बद्नाम हुने ?’ भन्ने प्रश्न समेत गरे ।

शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण तर सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएको उनले बताए । यसले सेवारत जर्साबहरुलाई बाधा पुगेको हुनसक्ने भए पनि सबैले सहयोग गरेको थापाले बताए ।

संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, घरकाज, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई पहिल्याएको उनले बताए । ‘जहाँ समस्या छ, त्यहाँ औषधि सर्जरी गर्दैनौं भने निको कसरी हुन्छ ?’, सेनापति थापाले भने, ‘केही समस्या नियमित अभ्यासले संस्थागत भएको होला । र, यो समाधान गर्न केही समय पनि लाग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement