चीन भ्रमणमा रहेका प्रधानसेनापति थापा भेटघाटमा व्यस्त


काठमाडौँ— असार १ गते चीन भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा भेटघाटमा व्यस्त छन्।  समकक्षी सेन्ट्रल मिलिटरी कमिशन जनरल लि जुछेङसंग बुधबार भेटघाट भएकोमा बिहीबार स्टेट काउन्सिलरसँग भेटवार्ता भएको छ। प्रधानसेनापति थापाले स्टेट काउन्सिलर समेत रहेका चिनियां रक्षामन्त्री वेई फेंगेसंग भेटवार्ता गर्नुका साथै सैनिक सम्वन्धका वारेमा छलफल गरेका थिए ।

भेटवार्तामा दुई असल छिमेकी राष्ट्रका सैनिकबीच विद्यमान सम्बन्ध तथा सहकार्यका बारेमा छलफल भएको थियो । भ्रमणकै क्रममा प्रधानसेनापति थापा सांन्सी प्रान्तको सियान पुगेका छन् । उनलाई सांन्सी प्रान्तका प्रान्तिय सैनिक कमाण्डका महानिर्देशकले स्वागत गरेका थिए ।

भ्रमणकै क्रममा प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाल लगायत विभिन्न महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमणसमेत गरेका छन् ।

बेइजिङस्थित पिपुल्स लिबरेशन आर्मी हेडक्वार्टरुमा उनको सम्मानमा चिनियाँ मुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सोही अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोग अन्तर्गत प्रदान भएको १५० मिलियन आरएमबी बराबरको सामग्रीहरु तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरे।

नेपाली सेनाले विज्ञप्तिमार्फत् ‘यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास’ लिएको छ।

उनले शुक्रबार चीनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ। थापा शनिबार मात्र स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement