काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको शुक्रबार निरीक्षण गरेका छन् ।
निरीक्षणकाे क्रममा प्रधानसेनापति सिग्देलले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’हरूको वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका हुन् ।
उक्त अवसरमा प्रधानसेनापतिले संयुक्त राष्ट्रसङ्घको आह्वानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित मिसनमा खटिई जाने रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र लेबनानस्थित मिसनमा खटिइ जाने सवुज गण ६६औँ डफ्फाको पूर्वाभ्यास तालिमलाई समेत सम्बोधन गरेका छन् ।
सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनका लागि छ सय जना र लेबनानस्थित मिसनका लागि आठ सय ५० जना सकलदर्जाले सो तालिम लिएका छन् ।
प्रतिक्रिया