सेनामा आर्थिक अनियमितता गर्ने महासेनानीलाई २ महिना कैद र जागिरबाट बर्खास्त गर्ने फैसला


काठमाडौं– सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा ३ जना सैनिक अधिकारी र २ अन्य दर्जामाथी सेनाले कडा कार्वाही गरेको छ । सेनाको शुक्रवार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ जना सैनिक अधिकृत तथा २ जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सेनाले जनाएको छ ।

कार्वाही पर्नेमा महासेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देव बहादुर क्षेत्री र हुद्धा यज्ञराज पोखरेल रहेका छन् । त्यसैगरी अन्य दर्जाहरुमा हुद्धा गणेश बहादुर अधिकारी, लेखा आ.सहसेनानी सुरेन्द्र विक्रम भण्डारी रहेका छन् । सोही मुद्धामा अन्य १३ जनाले अभियोग माग दावीबाट सफाई पाउने गरी फैसला भएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न सेनाका सहायकरथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गत चैत्र ६ गते गठित समरी जनरल सैनिक अदालतले आज उक्त फैसला गरेको हो ।

महासेनानी भुपालमान अधिकारीले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (ट) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (ग) र (घ) बमोजिम २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने फैसला भएको छ ।

साथै निजले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको विगो रकम एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय समेत भएको छ ।

सेनाका प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को को दफा ४९ कोखण्ड (क), दफा को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (च) बमोजिम २(दुई) बर्ष बढुवा रोक्का गर्ने र निजबाट चारलाख चालीस हजार असुल उपर गर्ने फैसला भएको छ ।

हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरेको भन्दै भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउनुका साथै निजबाट तीन लाख साठी हजार) असुल उपर गर्ने फैसला भएको छ । अर्का हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरेको कसुरमा दोषी ठहरीएकोले २ बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने निर्णय हुनुका साथै निजले हिनामिना गरेको दश हजार असुल उपर गर्ने फैसला भएको सेनाले जनाएको छ ।

त्यसैगरी लेखा आ.सहसेनानी स भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरेकोमा दोषी ठहरीएकोले नसिहत दिने फैसला भएको छ ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement