यी हुन सेनाले बनाएको चार कमाण्डका नयां कमाण्डरहरु,सैनिक सचिव विभागमा कार्की


काठमाण्डु – नेपाली सेनाले पृतना संरचना खारेज गरेर कमाण्ड अवधारणालाई अघि बढाएको छ । सेनाले आठ वटा पृतनालाई खारेज गरेर चार वटा कमाण्ड अवधारणा लागु गरेको हो । सेनाको हाल रहेको संरचना प्रशासनिक ढंगको भएको भन्दै कमाण्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपुर्ती गर्ने दावी समेत गरेको छ ।

कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयां कमाण्डरहरु समेत तोकेको छ । नयां कमाण्डरहरुले आफ्नो जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको छ ।

जसअनुसार उपत्यका कमाण्ड हेडक्वार्टरमा उपरथी अशोकराज सिग्देल,पश्चिम कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी विज्ञानदेव पाण्डे,मध्य कमाण्ड हेड्क्वार्टरको कमाण्डरमा उपरथी विनयविक्रम राणा र उपरथी सन्तोषकुमार ढकालले पूर्वी कमाण्ड हेडक्वार्टरको कमाण्डरको जिम्मेवारी पाएका छन् । यसअघि सिग्देल हेटौडा, पाण्डे सुर्खेत, राणा पोखरा र ढकाल इटहरीमा पृतनापतिको रुपमा कार्यरत थिए ।

नेपाली सेनाभित्र सबैभन्दा शक्तिशाली विभाग भनेर चिनिने सैनिक सचिव विभागलाई समेत सेनाले अपग्रेट गरेको छ । यसअघि सहायकरथी प्रमुख हुने उक्त विभागमा उपरथीको दरबन्दी कायम गरिएको छ । सैनिक सचिव पदम बहादुर सिंहको ठाउंमा कार्यरथी विभागमा कार्यरत उपरथी वालकृष्ण कार्कीले सैनिक सचिवको जिम्मेवारी पाएका छन् । हालका प्रधानसेनापति पूर्णचन्द्रले भदौ २४ मा अवकास पाएसंगै कार्की तीन तारे जर्नेल बन्ने लाईनमा पहिलो नम्बरमा छन् ।

सेनाको अनुसन्धान र विस्तार निर्देशनालयमा यसअघि सहायक रथीले नेतृत्व गर्दै आएकोमा अवदेखि उपरथीले नेतृत्व गर्ने भएका छन्। सुदुरपश्चिम पृतनाका पृतनापति रहेका उपरथी निर्मलकुमार थापालाई उक्त विभागको जिम्मेवारी दिइएको छ । उनले यसअघि सैनिक सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यसैगरी सेनाको कल्याणकारी योजना निर्देशनालयको प्रमुखमा पनि उपरथीलाई जिम्मेवारी दिइएको छ । यसअघि सहायकरथी प्रमुख रहने उक्त निर्देशनालयको प्रमुखको जिम्मेवारी उपत्यका पृतनाका पृतनापति रहेका उपरथी आनन्दकुमार अधिकारीले पाएका छन् । मध्यपूर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की कार्यरथी विभागमा सरुवा भएका छन् ।

सेनाले चारै कमाण्डको डेपुटी कमाण्डरहरुको पनि जिम्मेवारी तोकेको छ । जसअनुसार १४ नं वाहिनीअड्डाका योगराज शर्मा उपत्यका कमाण्डको डेपुटी कमाण्डरमा, नम्बर ७ वाहिनी अड्डाका बाहिनपति सहायक रथी कृष्णदेव भट्टलाई मध्यकमाण्डमा, विशेष फौज वाहिनीका वाहिनीपति सहायक रथी अनुपजंग थापालाई पूर्वी कमाण्डमा,नम्बर ५ वाहिनीपति सहायकरथी नकुलबहादुर रायमाझीलाई पश्चिम कमाण्डमा, नम्बर ९ वाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाहलाई विशेष फौज वाहिनी काठमाडौंमा र पश्चिम पृतनापति कार्यालयका सहायक रथी शिशिरचन्द्र केसीलाई नं ९ वाहिनी अड्डाको वाहिनीपतिमा सरुवा गरिएको छ।

यो पनि पढ्नुहोस-

सेनामा पृतनाको संरचना खारेज,सेनाले चार वटा कमाण्डको अवधारणा किन अघि बढायो ?

प्रतिक्रिया दिनुहोस
Advertisement