उपरथी कार्कीको पदावधि थप नहुने, सेनाको तीन तारे जर्नेल बन्ने लाइनमा सिताराम खड्का


काठमाण्डु – नेपाली सेनाका उपरथी अनन्त कार्कीको पदावधि थप नहुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सेनाका विवादित उपरथी अनन्त कार्कीको पदावधि थप नगर्ने निर्णय गरेसंगै उनी दुई तारेबाटै घर जाने लगभग निश्चित भएको हो । तर, कार्कीले पदावधि थपको लागी राजनीतिक नेतृत्वकोमा धाउने काम भने जारी राखेका छन् ।

उनले रक्षा मन्त्रालयमा प्रधानसेनापतिविरुद्ध उजुरी नै दिएका छन् । जसको बोधार्थ प्रधानमन्त्री कार्यालयमा समेत दिएका छन् । प्रधानसेनापति शर्माले उनको पदावधि थप्ने पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्णयलाई रद्द गर्दै उपरथीहरु सिताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थपको फाइल रक्षामा पठाएका थिए । दुवै जना उपरथीको फाइल स्विकृत भएर पनि सैनिक मुख्यालय पुगिसकेको छ ।

सेनामा उपरथीको पदावधि थपको लागी सिफारीस गर्ने सम्पुर्ण अधिकार प्रधानसेनापतिमा निहित रहेको छ । जसले गर्दा कार्कीको पदावधि थप हुने सम्भावना देखिंदैन ।

कार्कीको पदावधी थप नहुने निश्चित भएसंगै सेनामा तीन तारे जर्नेल बन्ने लाइनमा भने सिताराम खड्का आएका छन् । खड्काले अमेरिकाबाट नेशनल डिफेन्स (एनडीसी) कोर्स गरेका छन् । उनि हाल सेनाको सैनिक तालिम महानिर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

कार्की यही माघ २३ मा अवकासमा जांदैछन् । त्यो भन्दा १५ दिन पहिलो अनिवार्य विदामा बस्ने सैनिक परम्परा छ । उनले अवकासको लागी पत्र केही दिनमा नै पाउंदैछन् । उनको पदावधि थप भएको भए वरियताका आधारमा कार्की तीन तारे जर्नेल हुने सम्भावना बलियो थियो । तर, अव खड्काले बाजी मार्ने लगभग निश्चित भएको छ ।

सेनामा दुई जना रथीको दरबन्दी छ । जसमध्ये बलाधिकृतरथीमा बालकृष्ण कार्की र बलाध्यक्षरथीमा सरोजप्रताप राणा छन् । कार्कीले आगामी असोजमा अवकास पाउंदैछन् । उनको अवकासपछि वरियताका आधारमा खड्का नेपाली सेनाको तीन तारे जर्नेल बन्नेछन् । उनि तीन तारे जर्नेल बनेपनि सेनापति भने बन्न पाउने छैनन ।

अहिलेको अवस्थामा कुनै फेरबदल भएन भने हालका प्रधासेनापति शर्मापछि सेनापति भने पाण्डे र अशोकराज सिग्देलमध्ये एक जना बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement