सेनामा शैक्षिक प्रमाणपत्रको छानविनः जर्नेल नै बुझाउंदै राजीनामा


रोशन खड्का , काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले सेनामा शैक्षिक प्रमाणपत्रको छानविन सुरु गरेपछि उच्च अधिकृतहरुले नै जागिर छोड्ने क्रम सुरु भएको छ ।

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको, उमेर सच्याएर जागिरमा बहाल रहेको र अनलाइनबाट सैनिक मुख्यालयको अनुमती नलिई डिग्रि गरेको गुनासो सेनामा आएपछि प्रधानसेनापतिले सुधारको लागी अभियान नै संचालन गरेका छन् । सेनापतिको निर्देशनपछि सैनिक सचिवको कार्यालयले सवै अधिकृतहरुलाई विवरण बुझाउन पत्रचार गरेको हो ।

उनिहरुलाई विवरण बुझाउन एक साताको समय दिइएपनि परिक्षा नियन्त्रण कार्यालयले २० दिनको समय माग गरेपछि थप दुई साथा म्याद थपको लागी सैनिक मुख्यालयले पक्रिया अघि बढाएको छ । सेनामा शैक्षिक प्रमाणपत्रमा समस्या, अनलाइन डिग्रि र उमेर सच्याएको आशंकामा केही अधिकृतहरुको बढुवा रोकिएको छ ।

रथीको लाइनमा रहेका उपरथी अनुज बस्नेतको पनि उमेरमा समस्या देखिएको सैनिक स्रोतको दाबी छ । उनको त्यही कारण देखाएर रथी बढुवा रोकिएको बताइएको छ । त्यसैगरी उमेर सच्याएको देखिएपछि सेनाका दुई जना सहायकरथीले राजिनामा दिएको स्रोतको दाबी छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरवारमा कार्यरत सहायकरथी कृष्ण गुरुङ र नेपाल व्याटल स्कुल सालझण्डीमा कार्यरत सहायकरथी गणेश कार्कीले गत हप्ता राजिनामा दिएका छन् ।

शैक्षिक प्रमाणपत्र र नागरीकतामै समस्या देखिएपछि मैना सुनुवार काण्डमा मुछिएका प्रमुख सेनानी निरन्जन बस्नेत र हाल शान्ति सेनाको मिशनमा रहेका प्रभुकृष्ण खड्काको समेत प्रधानसेनापति थापाले म्याद थप नगरेको स्रोतको दाबी छ । उनिहरु दुवै जनाले प्रमुख सेनानीबबटै अवकास पाएका छन् । यसअघि अनलाइनबाट डिग्री गरेको पाइएपछि सहायकरथी नैनराज दाहालको उपरथीमा बढुवा रोकिएको थियो ।

सेनाका अर्का सहायकरथी संजयसिंह भण्डारीको पनि अनलाइन डिग्री रहेको सैनिक स्रोतको दाबी छ । लोकसेवा आयोगले अनलाइनबाट डिग्री गरेकालाई सरकारी सेवामा जागिरको लागी मान्यता नदिएपछि भण्डारीको पनि बढुवा रोकिने भएको छ । त्यसैगरी सेनाका अर्का सहायकरथी शैलेन्द्र थापाको शैक्षिक प्रमाण नक्कली भएको भन्दै सैनिक मुख्यालयमा उजुरी परेको छ । थापाले भारतबाट पढेको शैक्षिक प्रमाणपत्र पेश गरेका छन् । उनले सेनाबाट स्विकृती नलिई पढेको पाइएको सैनिक स्रोतको दाबी छ । थापाले भारतबाटै एनडिसी कोर्स गरेका छन् ।

प्रधानसेनापति थापाले शैक्षिक प्रमाण नक्कली रहेका अधिकृतहरुको हकमा कडा निति अख्तियार गरेपछि सेनामा तरंग छाएको छ । कतिपय सैनिक अधिकारीले बढुवा नहुने र कार्वाही हुने भएपछि राजिनामाको बाटो रोजेका छन् । केहीले राजिनामा दिने तयारी गरेको सैनिक स्रोतले बतायो ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सेनामा नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भेटिएमा कार्वाही हुने बताए । उनकाअनुसार अहिले सैनिक अधिकृतहरुले नागरिकता र शैक्षिक प्रमाणपत्रको विवरण बुझाउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement