काठमाण्डु – कृत्रिम व्यवसाय खडा गरी पटक–पटक कर्जा दुरूपयोग गरेको कसुरमा संलग्न रहेको अभियोगमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा.लि. का सञ्चालक काठमाण्डु महानगरपालिका–९ रातोपुल बस्ने ओमप्रसाद पाण्डेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धनुषा छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रालि नामक कृत्रिम व्यवसाय खडा गरी डीपीआर बिना तथा धितोको अस्वभाविक रूपमा बढी मूल्यांकन गरी/गराई कर्जा लिएको, प्रभू बैंकबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो सोको अन्यत्र प्रयोग गरी/गराई पटक–पटक कर्जाको दुरूपयोग गरेको खुल्न आएको छ ।
कर्जा दुरुपयोग सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया