भीओआईपी कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

भीओआईपी कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भएका उपकरण तथा सामग्रीसहित चितवनबाट १ भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२ आँपटारीबाट भारतीय नागरिक २५ वर्षीय काथराम नितिनलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार आँपटारीस्थित निर्मला विष्टको घरमा बस्दै आएका नितिनलाई अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) प्रयोग गरी दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसुरमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनको साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकमको सिमकार्ड र ४ थान सीपीयू बरामद गरेको छ ।

त्यस्तै १ थान इन्भर्टर, २ थान ब्याट्री, ६ थान २० पोर्टको यूएसबी, ३३ थान यूएसबी सेलुलर मोडेम, ३० थान यूएसबी ओटीजी टु अडियो केबल, १ थान ५ पोर्टको नेटवर्क स्विच, २ थान इन्टरनेट राउटर तथा विभिन्न प्रकारका डाटा केबलसमेत बरामद गरिएको सीआईबीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्री अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनबाट थप अनुसन्धान भइरहेको छ ।