काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन् । उनी नेपाल वायुसेवा निगमको उडानमार्फत हङकङबाट काठमाण्डु आएका थिए ।
विमानस्थलमा शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा चारवटा प्याकेटमा पहेँलो रङको अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ सुन भएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।



प्रतिक्रिया