प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मध्यान्न शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । यस्तै उनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए ।

त्यसक्रममा राजदूत दलेलाले सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

नेपालका लागि राजदूत भएर आएपछि दलेलाले यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रीहरूलाई पनि भेटिसकेका छन्।

उनले २७ कात्तिकमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, पर्यटनमन्त्री खडकराज पौडेल (गनेश), परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेटेका थिए ।

त्यसैदिन उनले नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) का अध्यक्ष कुनाल कायलसँग पनि भेटवार्ता गरेका थिए ।