काठमाण्डु – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाण्डु, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी, कञ्चनपुर, रुकुम पश्चिम, संखुवासभा र झापाका विभिन्न स्थानबाट शुक्रबार र शनिबार पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट गाँजा १६ किलो २०० ग्राम, चरेसजस्तो देखिने पदार्थ ७ किलो ८५ ग्राम, ब्राउनसुगर तथा खैरो हेरोइनजस्तो देखिने पदार्थलगायत नियन्त्रित लागूऔषधका ट्याब्लेट र नगद बरामद गरेको छ ।
काठमाण्डुको चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४८९ ट्याब्लेट र नगद ६२ हजारसहित बारा घर भएका ३३ वर्षीय प्रेमबहादुर आले पक्राउ परेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा लागूऔषध फेला पारेको हो ।
यसैगरी काठमाण्डु महानगरपालिका–२६ कपुरधाराबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १२ ग्राम ११० मिलिग्रामसहित सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३२ वर्षीय अजय थापा पक्राउ परेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १६ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मुम्बईका ५३ वर्षीय सइद अहमद सबिर अहमद, २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेख र ४८ वर्षीय राहत फारुक शेख रहेका छन् । थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका पहिलो २ जनालाई गाँजासहित पक्राउ गरिएको हो । भारत निकासी गर्ने उद्देश्यले दिल्लीबाट एयर इन्डियामार्फत नेपाल आएका राहतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमती हाट बजारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८९ ट्याब्लेटसहित चन्द्रपुर नगरपालिका–१ मंगलपुरका ३० वर्षीय ताराबहादुर चौरेल पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–११ सिमरबना चोकबाट गाँजा करिब २०० ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल २७८ ट्याब्लेट, स्पास्पेन २५८ ट्याब्लेट र नगद ८ हजार ४०० सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अभिषेक चौधरीसमेत रहेका छन् । प्रहरीले अभिषेकको घर तलासी गर्दा लागूऔषध फेला पारेको हो ।
यसैगरी सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७६० मिलिग्रामसहित धरान उपमहानगरपालिका–१५ का २० वर्षीय लाजेदाङ लिम्बुसहित २ जना पक्राउ परेका छन् । उनीहरू को९प ६१६२ नम्बरको मोटरसाइकलमा सवार थिए ।
इनरुवा नगरपालिका–४ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्रामसहित मोरङको बेलबारी नगरपालिका–२ का ३३ वर्षीय रञ्जित मेहता पक्राउ परेका छन् ।
बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ३७० मिलिग्रामसहित स्थानीय ३० वर्षीय अमर राईसहित ४ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–४ सुनसरीपुलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम ६५० मिलिग्राम र डिजिटल तराजु १ थानसहित स्थानीय ४२ वर्षीय भगत चौधरी पनि पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ राधेमाईबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्राम ४८० मिलिग्रामसहित बाराको विश्रामपुर गाउँपालिका–५ का २४ वर्षीय शेख अजाद पक्राउ परेका छन् ।
रोल्पा नगरपालिका–६ रिमसकका २३ वर्षीय रिदम घर्तीमगरलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ १८० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घर तलासी गर्दा लागूपदार्थ फेला परेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–५ शान्तिनगरका २९ वर्षीय राकेश राईलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ ७ ग्राम ९०० मिलिग्रामसहित पक्राउ गरिएको छ । प्रहरीले उनको घर तलासी गर्दा लागूपदार्थ फेला पारेको छ ।
मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित मिलिजुली टोलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम ६२ मिलिग्रामसहित लेटाङ नगरपालिका–३ कृतिमानका २९ वर्षीय दिनेश राई पक्राउ परेका छन् । यसैगरी विराटनगर महानगरपालिका–१६ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ९०० मिलिग्रामसहित सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २१ वर्षीय राज प्रधान पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ मजगाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २९० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेनाका ३८ वर्षीय रविन्द्र कवरसमेत रहेका छन् । उनी सल्यानको शारदा नगरपालिका–३ खलङ्गाका स्थायी बासिन्दा हुन् ।
डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहबाट चरेसजस्तो देखिने पदार्थ ७ किलो ८५ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजङ्गबहादुर कडायत रहेका छन् । उनीहरू बा७७प ८७०२ नम्बरको मोटरसाइकलमा सवार थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ५६० मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका–११ का २८ वर्षीय जयराम तिरुवा पक्राउ परेका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ भण्डारीकाँडाका २७ वर्षीय वसन्त विकलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ ४३० मिलिग्राम र नगद २५ हजारसहित पक्राउ गरिएको छ । उनको घर तलासी गर्दा लागूपदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–१ का २६ वर्षीय चिरायु पोख्रेललाई ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित एचएम होटलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ७२० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का २३ वर्षीय सचिन राई तथा दमक नगरपालिका–७ का ३० वर्षीया मिना राई र २६ वर्षीया प्रतिमा राई रहेका छन् । होटल तलासी गर्दा लागूपदार्थ फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया