घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन

घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) नाच घलेगाउँमा प्रदर्शन गरिएको छ ।

लमजुङको क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन् ।

गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको नाच अर्घुम संस्कारको महत्वपूर्ण पक्ष मानिन्छ ।

अर्घुमका क्रममा मृतकको प्रतीकका रूपमा पुत्ला तयार गरी विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरिन्छ । पुत्ला लिन जाने क्रममा बाटो पन्छाउने र बाटो खुलाउने उद्देश्यले पार्का बजाउने परम्परा रहेको स्थानीय बताउँछन् । यस क्रममा ४ दिशाको देवताको पूजा गरी विधिपूर्वक पुत्ला ल्याउने गरिन्छ ।

पुत्ला नाच्ने स्थानमा ल्याएपछि पहिलो चरणमा प्रेतको पाइला छ कि छैन भनेर हेर्ने र दोस्रो चरणमा बाटोमा रहेका छेकबार काट्ने सांकेतिक विधि गरिन्छ । त्यसपछि पुत्लालाई निर्धारित स्थानमा राखेर धर्ती पूजा गर्ने र ढोग्ने परम्परा छ । अन्त्यमा पार्का बजाउँदै फकाउने तथा समातेर नचाउने विधि पूरा गरिन्छ ।

स्थानीयका अनुसार यस नाचका प्रत्येक चरणको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ। पार्काको ताल र नाचका माध्यमबाट मृतकको आत्माको यात्रासँग सम्बन्धित परम्परागत विधि पूरा गर्ने विश्वास गरिन्छ ।

यसपटक घलेगाउँमा एकैदिन ३ जनाको अर्घुम संस्कार परेकाले गाउँको खेल मैदानमा परम्परागत संस्कार तथा नाच प्रस्तुत गरिएको थियो । संस्कार अवलोकन गर्न स्थानीय बासिन्दासँगै घलेगाउँ घुम्न आएका पर्यटकसमेत सहभागी भएका थिए । यसले पर्यटकलाई गुरुङ समुदायको मौलिक संस्कार, मृत्यु संस्कृतिसँग जोडिएका धार्मिक विश्वास र सांस्कृतिक परम्परालाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ ।

परम्परागत संस्कार र सांस्कृतिक सम्पदाले पहिचान बनाएको घलेगाउँमा यस्ता गतिविधिले गुरुङ समुदायको मौलिक संस्कृति संरक्षण तथा नयाँ पुस्ता र बाह्य समुदायमाझ यसको महत्व चिनाउनसमेत सहयोग पुर्‍याउने देखिन्छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी