परशुराममा कुटपिट प्रकरणः नैतिकता नभएकी उपमेयरले किन पदमा बस्ने ?

परशुराममा कुटपिट प्रकरणः नैतिकता नभएकी उपमेयरले किन पदमा बस्ने ?


टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकाकी उपमेयर बिमलाकुमारी बोहराले देखाएको हर्कतले परशुराममा हंगमा मच्चिएको छ । यतिबेला सामाजिक सञ्जालमा परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा उनले गरेको बबन्डरको भिडियो भाइरल भइरहेको छ ।

बिहीवार बसेको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण देब जोशीमाथी उपमेयरसहित माओवादीबाट निर्वाचित वडा अध्यक्षहरूले कुटपिट गरेका हुन् ।

शिक्षा शाखा प्रमुख लक्ष्मी बिष्टको काज फिर्ताको बिषयलाई लिएर कार्यपालिका बैठकमा हंगमा मच्चिएको थियो । कार्यपालिका बैठकमा वडा न.१ का वडा अध्यक्ष लाल बहादुर धामीले बिष्टको काज फिर्ताको प्रस्ताव राखेका थिए । तर, अधिकृत जोशीले काज फिर्ताको कुनै कारण नभएको बताएपछि माओबादीबाट निर्वाचित जनप्रतिनिधिहरुले जोशीको टाउकोमा कुसीले हिर्काए ।

कुर्ची प्रहारपछि जोशी अस्पताल भर्ना भएका छन् । उनको टाउकोमा तीन वटा टाकासमेत लागेका छन् । उक्त घटना घट्नुमा उपमेयरको ठुलो हात रहेको परशुराम नगरपालिकाका प्रबक्ता खगेन्द्र सिंह ठकुरीले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उपमेयर बोहराले कुर्सी तोडफोड गरिरहेकाे देख्न सकिन्छ । प्रबक्ता ठकुरीका अनुसार बैठकमा अन्य जनप्रतिनिधिलाई उचाल्ने काम उपमेरले गरेकी हुन् ।

‘बैठकमा विवाद हुँदा सुरुमा उपमेयरले मलाई हातपात गर्न खोज्नुभयो । अनि अधिकृत जोशीमाथि वडा न. ७ का वडा अध्यक्षले कुर्सी प्रहार गरे । त्यसपछि उपमेयरसहित माओवादीबाट निर्वाचित वडा अध्यक्षले तोडफोड गरेका हुन् । यो घटनामा सबै भन्दा ठुलो हात उपमेयरको छ ।  उपमेरलाई कारबाही नभए आन्दोलनमा उत्रिने छौँ ।’, उनले भने ।

अहिले सामाजिक सञ्जालमा उपमेयरको चौतर्फी आलोचना भइरहेको छ । उनले अराजकत हर्कत गरेकाले राजीनामा दिनुपर्ने आवाज पनि उठिरहेको छ । उपमेयरले गुण्डाको शैलीमा दादागिरी देखाउनबाट नै उनी नैतिकता नभएकी उपमेयर भएको पुष्टि भएको भन्दै विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।