काठमाण्डु – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दियाको बाँसगढी नगरपालिका–१० घर भई काठमाण्डु महानगरपालिका–५ बस्ने २४ वर्षीया उमा तामाङ, काठमाण्डु शंखरापुर नगरपालिका–७ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ३४ वर्षीय महेश प्रजापती र चितवनको भरतपुर महानगरपालिका–१५ घर भई काठमाण्डु महानगरपालिका–१६ बस्ने ३० वर्षीया शान्ती खड्गी रहेका छन् ।
पक्राउमध्ये उमाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र महेशले १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ तथा शान्तीले रोमनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उमालाई काठमाण्डु महानगरपालिका–१२ बाट आईतबार, महेशलाई काठमाण्डु कागेश्वरी महानगरपालिका–३ बाट र शान्तीलाई काठमाण्डु महानगरपालिका–१६ बाट सोमबार पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।
प्रतिक्रिया