प्रहरीमाथि आक्रमण गर्ने २ जना पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने २ जना पक्राउ


काठमाण्डु – सेवारत प्रहरीमाथि आक्रमण गर्ने २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भई हाल काठमाण्डु–२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यायपधुरा–५ घर भई लैनचौर बस्ने २२ वर्षीय रमेश फुलारा छन् ।

गत २४ गते राति ड्युटीमा रहेका २ प्रहरीमाथि ठमेलमा कुटपिट गरिएको थियो । ५–६ जनाको समूहमा रहेका आरोपीहरूले हो–हल्ला गरिरहँदा सम्झाउने प्रयास गरेपछि प्रहरीहरू रघु घर्ती र नगेन्द्र विष्टलाई कुटपिट गरिएको थियो ।

आरोपीहरूले प्रहरीको मोटरसाइकलमा तोडफोडसमेत गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले खोजतलासका क्रममा आईतबार एयरपोर्ट क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

अभद्र व्यवहार सम्बन्धी कसूर मुद्दामा ५ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।