सुन व्यापारको प्रलोभनमा पारेर महिलालाई वेश्यालयमा बेच्ने फरार प्रतिवादी पक्राउ

सुन व्यापारको प्रलोभनमा पारेर महिलालाई वेश्यालयमा बेच्ने फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो ।

चमार तामाङ समेतले काठमाण्डुको चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई काम गर्दा टीबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाण्डुबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी वेश्यालयमा जबरजस्ती ७ वर्षसम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङविरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्नपश्चात अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाण्डुमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो ।

उनीउपर जिल्ला अदालत काठमाण्डुबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।