रौतहट – पर्सामा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार स्रोत नखुलेको रकमसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल प्रवेश गरिरहेको बीआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाई ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले ३ जना पक्राउ गरेको हो ।
भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नम्बर ७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले बताए ।
वीरगन्ज भन्सार कार्यालको जाँच बिन्दुको सडक नजिकबाट उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरूलाई सवारीसाधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिएको डीएसपी सिंहले बताए ।
बरामद नगदसहित ३ जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र कानूनी प्रक्रियाअघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया