सिरहामा लागूऔषध र अवैध रकमसहित ५ जना पक्राउ

सिरहामा लागूऔषध र अवैध रकमसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – जिल्लामा लागूऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न ५ जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेसन सञ्चालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो ।

लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेशकुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको छ ।

चेकजाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन, ५१ हजार ४५० नगद र १ थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

त्यसपछि दिनेशको लहान–२२ स्थित घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ, ३५ हजार ७८० भारतीय रुपैयाँ, ४ थान मोबाइल र १ थान डिजिटल तराजु फेला परेको थियो ।

जेठ ३ गते दिउँसो १ः३० बजे बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट चेकिङका क्रममा प्रहरीले भारतको लदनियाबाट आएका २ युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । कृष्णकुमार यादव (२०) र निरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको छ ।

उक्त दिन साँझ ३ बजे सिरहा नगरपालिका–२ स्थित महावीर चोक नजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) लाई समेत प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको १६ लाख ३८ हजार नेपाली रुपैयाँ र २३० भारतीय रुपैयाँ (ने.रु.३७० बराबर) सहित १ थान मोबाइल फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ती सबै व्यक्तिहरूमाथि लागूऔषध कारोबार र अवैध सम्पत्ति सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले लागूऔषध कारोबारविरुद्ध निगरानी र निगरानी कडा पारिएको जनाएको छ ।