काठमाण्डु – युवतीको सुन्दरतामा फस्ने व्यक्तिहरूलाई होटलमा बोलाएर नाङ्गो तस्वीर खिची ‘हनी ट्रयाप’मा पारेर पैसा असुलेको आरोपमा २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिलाई फसाएर होटलमा बोलाएर अश्लील भिडियो र तस्वीर खिचेर ती युवतीले घर–जग्गा माग्नेसम्मको बार्गेनिङ गर्ने गरेको पाइएको छ ।
पक्राउ पर्नेमा कैलाली घर भई काठमाण्डु महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी छन् ।
आरोपीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार सामाजिक सञ्जालबाट पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गर्न लगाएर नाङ्गो तस्वीर खिचिएको थियो ।
मादक पदार्थले पीडित अचेत अवस्थामा पुगेपछि उनको अश्लील फोटो र भिडियो बनाइएको र त्यसैलाई देखाएर बार्गेनिङ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिन सर्ट मेसेन्जरमा पठाएर ‘काठमाण्डुमा घर र ४ आना जग्गा दिनुपर्छ, नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की समेत दिएका थिए । पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य पारिएको थियो ।
प्रहरीले काठमाण्डु महानगरपालिका–११ हनुमानस्थानबाट दुवैलाई पक्राउ गरेको छ भने दुवैको साथबाट मोबाइल २ थान र प्राइम कमर्सियल बैंकको आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक १ थान बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक आचार्यका अनुसार आरोपीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया