स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ


काठमाण्डु – काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो । उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो ।

त्यस क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement