राजदूत नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलन मिलाइएको सरकारको प्रष्टीकरण

राजदूत नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलन मिलाइएको सरकारको प्रष्टीकरण

परराष्ट्रमन्त्री भन्छिन् – मोदीले नेपाल भ्रमण गर्न सकारात्मक जवाफ दिनुभएको छ

फाइल तस्बिर

काठमाण्डु – सरकारले राजदूतहरूको नियुक्ति सिफारिसमा राजनीति र व्यवसायिकताको सन्तुलनलाई निरन्तरता दिइएको बताएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मंगलबार सरकारका तर्फबाट परराष्ट्रमनत्री आरजु राणा देउवाले राजदूतहरूको नियुक्ति सिफारिसमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको बताइन् ।

सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिश गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिश गरिएको परराष्ट्रमन्त्री राणाले बताइन् ।

बैठकमा सांसदहरूले राजदूत नियुक्ति विवादरहित हुन नसकेको भन्दै प्रश्न उठाएपछि परराष्ट्रमन्त्री राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने गरेको बताइन् ।

‘नेपाल सरकारले मुख्यतः राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कूटनीतिलाई सञ्चालन गर्दै आएको छ’, परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको छ । मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध छ ।’

राणाले संविधानको धारा २८२ अनुरुप राजदूत नियुक्ति गर्ने तथा सोका लागि दफा को ८ (ग) बमोजिम राजदूत नियुक्ति सम्बन्धी निर्देशिका रहेको बताइन् ।

सरकार संविधानको मर्म र राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई मुल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन प्रयासरत रहेको र रहने उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणबारे पनि समितिमा जानकारी गराइन् । भारत भ्रमणका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणका लागि दिएको निमन्त्रण पत्र हस्तान्तरण गरेको जनाइन् । मोदीले जवाफमा नेपाल भ्रमण गर्नेबारे सकारात्मक जवाफ दिएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ,’ मन्त्री राणाले भनिन्, ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिनुभएको छ।’

राणाले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेकी थिइन् । भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामाराणा भारत भ्रमणमा गएकी थिइन्। उनले भ्रमणका दौरान गत भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गरेकी थिइन् ।

भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा छलफल भएको उनले समितिलाई जानकारी दिएकी छन् ।