वीरेन्द्र कर्ण
वीरगञ्ज – दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको ५ किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमिनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।
बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।
नेपालको लाइफलाइनका रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६५ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब ५ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।
पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब ९ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५ सय ठूलासाना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।
उनले निकुञ्जभित्रको ९ किलोमिटर क्षेत्रमध्ये ४ किलोमिटर क्षेत्रमा रुख कटान गरी पाइपलाइन बिछ्याउने काम भइसकेको र बाँकी रहेको ५ किलोमिटर क्षेत्रमा पर्ने रुख कटान गरी चाँडै नै पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने बताए ।
पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई ५ वर्षसम्मको लागि १ लाख ४७ हजार २ सय रुख रोप्न १ करोड ३९ लाख ६७ हजार ५२ रुपैयाँ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।
गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमिनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।
सो पाइप लाइन भारतीय आयल निगमको २ सय ७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २ सय करोड तथा संघीय सरकारको ७५ करोड रुपैयाँ लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।
पाइप लाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३ हजार ९ सय किलोलिटर क्षमता भएको २ वटा तथा ४ हजार १ सय किलो लिटर क्षमता भएको २ गरी ४ ट्यांकर मर्मत, सम्भार द्रूतगतिमा भइरहेको छ । सो पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रतिघण्टा २ लाख लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ ।
जमिनमुनि साढे २ मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता नियन्त्रण हुने बताइएको छ ।
प्रतिक्रिया