आशिका तामाङको हठका अगाडि सभामुखको केही लागेन, सरकारलाई गरे रुलिङ

आशिका तामाङको हठका अगाडि सभामुखको केही लागेन, सरकारलाई गरे रुलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आफूले पटकपटक संसदमा उठाएका विषय सरकारले सम्बोधन नगरेको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् आशिका तामाङले उभिएर विरोध जनाइन् ।

सभामुख डोलप्रसाद अर्यालले पटकपटक बसेर कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरे । तर, आशिकाले मानिनन् । आफूले बोलेको विषय संसदको कुर्सी, टेबल र भित्तामा रहेको भन्दै उनी उभिरहेपछि सभामुख अर्यालले बोल्न समय दिए ।

आशिकाले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले पहल नगरेकामा उनको आपत्ति थियो ।

३७ दिनअघि यस विषयमा आफूले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको उनको भनाइ थियो । अर्थ मन्त्रालयले शव ल्याउन बजेट विनियोजन गरेको भए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा आफन्त तड्पिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘अर्थ मन्त्रालयले बजेट छुट्याएको छ तर, परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश गर्न छाडे’, उनले भनिन्, ‘विदेशमा अलपत्र भई मरेका आफ्ना नागरिकलाई कि राज्यले आफ्ना नागरिक होइनन् भनेर घोषणा गरोस् । यस विषयमा जबाफ नदिउन्जेल म उभिरहन्छु।’

सभामुख अर्यालले आशिकाले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरे । त्यसपछि उनी सिटमा बसेकी थिइन् ।