ट्राफिक जरिवाना डेढ लाखसम्म बनाउने विषय छलफलमा छः रास्वपा सांसद् गजुरेल

ट्राफिक जरिवाना डेढ लाखसम्म बनाउने विषय छलफलमा छः रास्वपा सांसद् गजुरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् आषिश गजुरेलले ट्राफिक नियम उल्लंघन गर्नेमाथि एकदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना लगाउने विषयमा छलफल चलिरहेको बताएका छन् ।


आइतबार राजधानीमा आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ शीर्षक अन्तर्क्रियामा गजुरेलले सरोकारवालाहरुसँगको परामर्शमा उक्त कानून ल्याइने बताए ।

‘ट्राफिक नियम उल्लंघन गर्नेलाई एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको छ’, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका गजुरेलले भने, ‘जरिवाना तोक्नुअघि नागरिक र सरोकारलासँग पनि छलफल चाहिं हुन्छ ।’


पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३ को मस्यौदामा ट्राफिक जरिवाना एक देखि डेढ लाखसम्म प्रस्ताव गरिएको छ ।


मन्त्रालयले मस्यौदा ड्राफ्ट गरेर कानून मन्त्रालय पठाएको भए पनि मन्त्रिपरिषदले स्वीकृत गर्न बाँकी छ ।

अधिक जरिवानासहित कठोर कानून ल्याउन लागिएको भन्दै सर्वसाधारणदेखि सरोकारवालासम्मले सरकारको आलोचना गरिरहेका छन् ।

सभापति गजुरेलले कडा कानूनी प्रबन्धसँगै सडक अनुशासनसम्बन्धी सचेतना कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

गजुरेलले ट्राफिक प्रहरीले सर्वसाधारणसँग गर्ने व्यवहारमा सुधार ध्याउन जरुरी रहेको औंल्याए ।

कतिपय ट्राफिक प्रहरीमा आर्थिक अनुशासन नरहेको भन्दै उनले गल्ती नगर्ने चालकलाई नियन्त्रणमा लिएर बिना चिट रकम लिएको समेत आफूले भेटेको बताए ।