परराष्ट्रमन्त्री ज्ञवाली र अस्ट्रियन संघीयमन्त्री नाइशेलबीच शिष्टचार भेटवार्ता


काठमाडौँ – छ दिने युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अस्ट्रिया युरोपका एकीकरण, विदेश मामिला तथा संघीयमन्त्री करेन नाइशेलबीच सोमबार उहांकै कार्यकक्षमा शिष्टचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाल–अस्ट्रियाबीचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। दुवै देशका मन्त्रीहरुले द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्नुका साथै व्यापार, लगानी, पर्यटन, सम्पदा संरक्षण, पानी व्यवस्थापन र जनस्तरमा सम्बन्ध विस्तारका विषयमा छलफल गरेकोे विज्ञप्तिमा उल्लेख छ।

आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुग्दै गर्दा द्विपक्षीय सम्बन्ध विस्तारमा जोड दिन दुवै देशका मन्त्रीहरु सहमत भएका छन्।परराष्ट्रमन्त्री ज्ञवालीले अस्ट्रियन समकक्षीसँग नेपाल सरकारको विकास प्रथमिकताका क्षेत्रहरु बताउँदै आगामी दिनमा दुई देशबीच आर्थिक सम्बन्ध वृद्धि हुनेमा विश्वास समेत व्यक्त गरे।

यस्तै नाइशेलले पनि आफ्नो देशको एसियाली देशसँगको विदेश नीतिको प्राथमिकता बताउँदै नेपालको विकासमा निरन्तर सहयोग गर्ने बताएकी छन्। अस्ट्रियाको राजधानी भियनामा आयोजना हुने अन्तर्रा्ष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आएइए) को ६२औँ वार्षिक नियमित सत्रमा सहभागी हुन मन्त्री ज्ञवाली शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement