अस्ट्रेलियन सरकारले गर्‍यो विद्यार्थीहरुलाई भिसा शुल्क छुट


काठमाण्डु – अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि अस्ट्रेलिया सरकारले भिसा शुल्क छुट गरिदिएको छ । नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरु र ‘वर्किङ होलिडे’मा जानेहरुका लागि अस्ट्रेलिया सरकारले आजदेखि लागू हुनेगरि भिसा शुल्क छुट गरेको हो ।

अस्ट्रेलियाको आर्थिक स्रोतको ठूलो हिस्सा ओगट्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित गर्न र देशमा पछिल्लो समय भइरहेको कामदारको अभाव पूर्ति गर्नको लागि संघीय सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले बुधबार बिहान गरेको यो घोषणा पहिल्यै अस्ट्रेलियाको भिसा पाउन योग्य भएर अस्ट्रेलिया प्रवेश गर्न बाँकी रहेका करिब १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थी र २३ हजार ५ सय ‘वर्किङ होलिडे’मा जानेहरुका लागि लक्षित गरिएको हो ।

यसअघि अस्ट्रेलिया प्रवेश गर्नको लागि विद्यार्थीहरुले ६३० अस्ट्रेलियन डलर (५४ हजार नेपाली रुपैयाँ) र ‘वर्किङ होलिडे’मा जानेहरुले ४९५ अस्ट्रेलियन डलर (४३ हजार नेपाली रुपैयाँ) भिसा शुल्क तिर्नुपर्ने नियम थियो । तर यो भिसा शुल्कमा छूट दिने निर्णय भएको हो ।

काठमाण्डुस्थित अष्ट्रेलियाली दूतावासले आजदेखि आठ हप्तासम्म यो नियम लागू हुने जनाएको छ । राजदूत फेलोसिटी भल्कले नेपाली विद्यार्थीको लागि यो खुशिको कुरा भएको जनाएकी छिन् । उनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउनेछन् ।

यो छुट विद्यार्थीहरुको लागि आज बुधबारदेखि सुरु भएर आगामी ८ हप्तासम्म लागू रहनेछ । ‘वकिङ होलिडे’मा जानेहरुले भने आजदेखि आगामी १२ हप्तासम्म यो छुट पाउनेछन् । अष्ट्रेलिया सरकारको यो निर्णयपछि भिसाको पर्खाइमा रहेका झन्डै तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement