अक्सफोर्डले बनाएको खोप भारतमा आपतकालिन प्रयोग गर्न स्वीकृति माग


एजेन्सी – भारतको सिरम इन्स्ट्रिच्युट अफ इन्डियाले अक्सफोर्डले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप आफ्नो देशमा आपतकालीन प्रयोग गर्नका लागि स्वीकृति मागेको छ । खोप उत्पादक कम्पनी सिरमले ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग भारतमा खोप प्रयोगका लागि अनुमति मागेको हो ।

महामरीका कारण स्वास्थ्य आवश्यकता पूरा गर्न साधन अपर्याप्त भएको र ठूलो संख्यामा जनसाधारणको जीवनसँग जोडिएको खोपको आपतकालीन प्रयोग आवश्यक भएको उसले आवेदनमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक दिनअघि अमेरिकी औषधी उत्पादन कम्पनी फाइजरले पनि भारतमा यस्तै अनुमति माग्दै निवेदन दिइसकेको छ । बेलायत र बहराइनमा प्रयोगका लागि स्वीकृति पाइसकेको फाइजरले पनि भारतमा आफ्नो भ्याक्सिनको प्रयोगको प्रयोगका लागि निवेदन दिइसकेको छ ।

भारतको सिरम, विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी हो । जसले एक वर्षमै एक अर्ब डोज खोप उत्पादन गर्न सक्छ । नेपालले पनि सोही कम्पनीबाट खोप ल्याउन छलफल गरिरहेको छ । त्यसैगरी विकासोन्मुख देशलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले विभिन्न संस्थासँग मिलेर गठन गरेको कोभ्याक्ससँग पनि नेपालले सम्झौता गरिसकेको छ ।

खोपका लागि नेपालसहित ९२ देशले कोभ्साक्समा आवेदन दिएका छन् ।  अक्सफोर्डले विकास गरेको खोप इन्डियन काउन्सिल अप मेडिकल रिसर्चको सह प्रायोजनमा भारतका विभिन्न स्थानमा तेस्रो चरणको क्लिनिकल ट्रायल गरिएको थियो । त्यसैगरी अक्सफोर्ड र एक्ट्राजेनेकाले बेलायत र ब्राजिलमा पनि खोपको क्लिनिकल ट्रायल गरिसकेका छन् ।

भारतले भने क्लिनिकल ट्रायल सम्पन्न भएपछि मात्रै भ्याक्सिनलाई मान्यता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement