किन बाबुराम र वामदेव गठबन्धनमा सामेल हुन चाहान्छन् ?


काठमाण्डु- सत्तारुढ पाँच दलीय गठबन्धनमै चुनावी भागबन्डा मिलाउन सकसपूर्ण बनिरहेका बेला बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि गठबन्धनतिरै ढल्किएका छन् ।

जनता समाजवादी पार्टीबाट अल्गिएका डा. बाबुराम भट्टराईले आफू पनि गठबन्धनको हकदार भएको भन्दै पाँच दलीय गठबन्धनमै अटाउनेगरी दौडधुप तिव्र पारेका हुन् । विशेषगरि बाबुराम भट्टराई र वामदेव गौतमले चुनावमा मोर्चा बनाई एउटै चुनाव चिन्ह लिएर जानेगरि छलफल अघि बढाएका छन् । 

बिहीबार मात्रै वामदेव गौतम र बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा–छुट्टै भेट गरेका थिए । बाबुराम सँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए । माओवादीनिकट स्रोतका अनुसार करिव एक घण्टा भएको भेटवार्तामा भट्टराईले मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए ।

त्यसको जवाफमा प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भन्ने जवाफ दिएको जनाइएको छ ।  आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर नेसपा बनाएका भट्टराईलाई सहज छैन ।

त्यसकारण पनि उनी गठबन्धनको पक्षमा देखिएका छन् । भट्टराईले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर पाँच दलीय गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए । यसअघि प्रधानमन्त्रीसँग भएको भेटमा बाबुरामले आफु पनि गठबन्धनको हकदार रहेको बताउनुभएको थियो भने देउवाले सबैसँग छलफल गर्ने प्रतिक्रिया दिएका थिए।


यस्तै बिहीबार प्रचण्ड र वामदेव गौतमबीच भएको भेटमा पनि एउटै चुनाव चिह्नबाट चुनावी प्रतिस्पर्धामा जाने विषयमा छलफल भएको छ । साउन ३१ गते भित्र चुनावी प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएकाले सोही समयभित्र कम्तीमा पनि एकता संयोजन समिति बनाउने र एउटै चुनाव चिह्नबाट चुनावमा जानेबारेमा छलफल भएको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछिमात्रै टुङ्गोमा पुग्ने प्रचण्डले बताएको जनाइएको छ ।

यता नेपाली कांग्रेसले भने चुनाव चिन्हका बारेमा आफूहरू छलफलमै रहेको बताएको छ । माओवादी र एकीकृत समाजवादी पार्टी ५ दलीय गठबन्धनमा सामेल भएकाले बाबुराम र वामदेव सँगै मोर्चा बनाए साझा चुनाव चिन्ह लिन काँग्रेस पनि निर्णायक बन्नेछ ।

कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले भने अहिले सत्तामा सामेल भएका ५ दल बाहेक अरु दलहरु चुनावी गठबन्धनमा आउने भन्नेबारे कुनै औपचारिक प्रस्ताव नआएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement