जग्गा घोटाला प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईलाई कागजमात्र गराएर उन्मुक्तिको प्रयास!


ललितानिवास जग्गा घोटला प्रकरणमा नीतिगत निणर्यमा संलग्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई घटना विवरण कागजमात्र गराएर उन्मुक्ति दिईएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आईतबार घरमै पुगेर घटना विवरण कागज गराएको हो ।

घटना विवरण कागज सरकारी साक्षी बनाउनमात्र प्रयोग हुन्छ । सरकारी वकिलको उपस्थितिमा बयान गराएमा मात्र प्रतिवादी बनाउन सकिने व्यवस्था छ । तर, अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहँदा सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वयसँग घटना विवरण कागजमात्र गरेको हो ।

पूर्व प्रधानमन्त्रीद्दय बाबुराम र माधवलाई जोगाउन गठबन्धनले सीआईबीलाई समेत दबाब र प्रभावमा पारेको भन्दै तीव्र आलोचना भएको थियो । सोधपुछसम्म पनि नगरी अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको भन्दै सीआईबीमाथि प्रश्न उठाइएको थियो ।

संविधान तथा कानूनका जानकारहरुले पनि यस्तो कुनैपनि सुविधा कानूनले नदिएको बताएका छन्। यसले अनुसन्धान निश्पक्षतामा आधारित नभई कर्मकाण्डी मात्रै भएको तथा प्रहरी प्रभावमा रहेको स्पष्ट हुने उनीहरुको भनाई छ।

यस्तै आईतबार नै प्रतिवेदन बुझाउने तयारी गरिएको भनेपनि आज पनि अनुसन्धान नसकिएको भन्दै सीआईबीले सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएन। जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अच्यूतमणी नेउपानेले आज पनि कार्यालय समयमा प्रतिवेदन प्राप्त नभएको बताए। आज मात्रै जिल्ला अदालत काठमाडौंले प्रहरीलाई सो प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement