बाँचुन्जेल नेता


काठमाडौं – कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा (मसाल) को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो। सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। त्यसयताको ४४ वर्ष (एक वर्ष आन्तरिक कारबाही) सिंह निरन्तर शीर्ष नेतृत्व (महासचिव पद) मा छन्। उनी ०५७-०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा रहेनन्।

सिंहलाई महाधिवेशनमा पार्टीभित्र टक्कर दिने नेतै देखिएनन्। अन्य केही नेताले भित्री आकांक्षा देखाए पनि सिंहसामु नेतृत्वको दाबी गर्ने हिम्मत कसैले गरेनन्। यसरी सिंह पाँचौंपटक महामन्त्री भए।

‘केन्द्रीय समितिमा नयाँ पुस्ताका पनि चुनिनुभएको छ, हामी पुराना पुस्ताका पनि छौं,’ सिंहले अन्नपूर्णसँग भने, ‘नेतृत्वको निर्णय महाधिवेशनले गर्ने हो। आवश्यकताले कसलाई दिँदा उपयुक्त हुन्छ भन्ने ठान्छ, उसैलाई दिने हो, मलाई आवश्यकता ठान्यो अनि आफैंले नेतृत्व लिएँ।’

सिंह २०१४ सालदेखि नै नेकपाको केन्द्रीय समितिमा छन्। वयोवृद्ध सिंहले नेतृत्व नछोड्दा नेताहरू पदमा बस्न निकै लालायित हुँदा रहेछन् भन्ने सन्देश गएको छ। सिंह भने साथीहरूको विश्वास र आफ्नो सक्रियताले नेतृत्वमा रहिरहेको जिकिर गर्छन्। उनी भन्छन्, ‘लेनिनवादी सिद्धान्त भनेको नेतृत्वमा भरसक निरन्तरता हुनुपर्छ भन्ने हो। आवश्यकताअनुसार परिवर्तन पनि हुन सक्छ। तर साथीहरूको विश्वास र आफ्नै सक्रियताले मैले फेरि नेतृत्व पाएको हुँ।’

सिंह त उदाहरण मात्र हुन्। नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने धेरै नेता छन्। कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र माले महासचिव सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन्। यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन्।

सेक्टर काण्डपछि ०४६ भदौमा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य ९किरण० ले सुम्पेयता दाहालले नेतृत्व छोड्नुपरेको छैन। पार्टीको नाम पटकपटक फेरियो, तर पार्टी हाँक्ने जिम्मेवारी दाहालकै काँधमा छ। दाहालले नेतृत्व गरेको नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा ९माओवादी०, एकीकृत ९माओवादी०, माओवादी केन्द्र हुँदै अहिले नेकपा बनेको छ। दाहाल उनले एकल अध्यक्षदेखि सामूहिक नेतृत्वसम्म गरिरहेका छन्।

उनले गत वर्षदेखि हालका प्रधानमन्त्रीसमेत रहेका केपी ओलीसँग सामूहिक नेतृत्वमा पार्टी हाँकिरहेका छन्। तत्कालीन एमालेसँग एकता गरेपछि उनले आफ्नो भूमिका कमजोर भएको ठानेका त छन्, तर अधिकार खोजीमा उनका पछिल्ला अभिव्यक्ति ‘प्रखर’ रूपमा आउन थालेको छ। दाहालले कहिले महामन्त्री त कहिले अध्यक्षका रूपमा निरन्तर पार्टी नेतृत्व हाँकेको तीन दशक बितेको छ। उनी अझै नेकपाको एकता महाधिवेशनबाट एकल नेतृत्व गर्ने योजनामा छन्। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement