गृहमन्त्रीलाई तीनवटै सुरक्षा निकायको ‘आकस्मिक’ ब्रिफिङ


काठमाडौं— सोलुखुम्बुमा विप्लव समूहले चौकी आक्रमणको प्रयास गरेको खबर सार्वजनिक भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले तीनवटै सुरक्षा निकायसँग आकस्मिक ब्रिफिङ लिएका छन्।

आइतबार राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेपछि गृहमन्त्री बादलले तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन्।

आइतबार रातिको उक्त घटनापछि सोमबार दिउँसो गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालय बोलाएर घटनाबारे ब्रिफिङ लिएका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको बताएका थिए ।

गृहमन्त्री थापासँग प्रहरी प्रमुखको ब्रिफिङ लगत्तै उक्त स्थानमा थप प्रहरी टोली परिचालन गरिएको बताइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्लामा विप्लवका गतिविधि बढेकाले थप सुरक्षा सर्तकता अपनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement