काठमाण्डु – अविरला वर्षाका कारण विभिन्न नदीहरूमा आकस्मिक बाढीको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले शनिबार देशका विभिन्न २५ जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डु, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यसैगरी मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा पनि आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’को मध्यम जोखिम रहने महाशाखाको प्रक्षेपण छ।
मुख्य र ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ। कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित तहभित्रै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार आइतबार र सोमबार कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यता विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्।
कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण यातायात पूर्ण रूपमा बन्द छ। यद्यपि, भोजपुरको मध्य पहाडी लोकमार्गमा भने बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको विपि राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सुरक्षाका कारण सवारी साधन चल्न दिइएको छैन।
यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको ककनीमा पनि पहिरोले बाटो छेकेको छ।
गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। लुम्बिनी प्रदेशमा पनि अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग पहिरोका कारण ठप्प बनेका छन्।
यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक विभागको सूचना हेर्न र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।





प्रतिक्रिया